Saturday, October 30, 2010

कात्तिक २१ गते नै भाइटीका

नेपाल पञ्चाङ्ग निर्णायक समितिले अक्षांश र देशान्तरका आधारमा साँस्कृतिक मान्यता र परम्परालाई आधार मानी चाडपर्वको निर्णय गरिएको जनाएको छ ।
आ-आफ्नो चलनअनुसार वा उत्सवका रुपमा पर्व, जात्रा मनाउन शास्त्रले बाधा नगर्ने र स्वेच्छाले मनाइएको पर्व उत्सवलाई शास्त्रीय मान्यता प्रदान गर्न नमिल्ने भएकाले पञ्चाङ्गमा उल्लेख भए बमोजिम तिहारपर्व मनाउन नेपाल पञ्चाङ्ग निर्णायक समितिले विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।
ज्योतिषी, धर्मशास्त्री, संस्कृतविद् र विभिन्न सम्प्रदायका विशिष्ट विद्वानको परामर्श तथा रायसुझावका आधारमा काग तिहार, कुकुर तिहार -नरक चतुर्दशी, लक्ष्मीपूजा), गोबर्द्धन पूजा, म्हपूजा र भाइटीकाको निर्णय गरेकामा केही महानुभावले शङ्का उब्जाई अशास्त्रीय प्रचारप्रसार गरेको पाइएकाले प्रचलित पञ्चाङ्गमा उल्लेखित चाडपर्वहरु शास्त्रसम्मत् भएको आधार प्रस्तुत गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
समितिका अनुसार काग तिहार पर्व उदयकालव्यापी भएकाले कात्तिक १८ गते कात्तिककृष्ण त्रयोदशी २१ घडी १२ पला (२ः४६बजे) सम्म रहेको हुनाले सोही दिन कागपूजा गर्नुपर्ने छ ।
यसैगरी श्यपूजा अर्थात कुकुर तिहार पनि उदयकालव्यापी भएकाले र कात्तिक १९ गते कात्तिक कृष्ण चतुर्दशी १५ घडी ५८ पला (१२ः४१बजे) मात्र भएकाले सोही दिन कुकुरपूजा गर्नुपर्ने छ ।
लक्ष्मीपूजाको मुख्य समय प्रदोष र मध्य रात्रि भएकाले कात्तिक १९ गते कात्तिक कृष्ण चतुर्दशी १५ घडी ५८ पला (१२ः४१ बजे) उप्रान्त औंशी लाग्ने हुनाले प्रदोष र मध्यरात्रि दुवैकाल औंशी पाइएको हुनाले यस्मिन्काले तु यत्कर्म तत्कालव्यपिनी तिथिः भनेझंयसै दिन लक्ष्मीपूजा गर्नु शास्त्रसम्मत देखिने जनाइएको छ । 
यसैगरी जुन औंशीको दिन प्रतिपदाले युक्त छ सोही दिन गाईपूजा गर्नुपर्ने भएकाले कात्तिक २० गते ११ घडी २३ पला उप्रान्त अर्थात बिहान १० बजेर ५२ मिनेटदेखि प्रतिपदा आरम्भ हुने भएकाले यसै दिन गाईपूजा गर्नु उपयुक्त छ ।
गोबर्धन पूजा उदयव्यापिनी भएकोले कात्तिक २१ गते प्रतिपदाका दिन गोबर्धन पूजा गर्नु शास्त्रसम्मत भएको उल्लेख गरिएको छ ।
कात्तिक २१ गते प्रतिपदा ९ बजेर २२ मिनेटसम्म प्रतिपदा, उप्रान्त द्वितीया लाग्ने र कात्तिक २२ गते मध्याहृनकालमा द्वितीया नरहेकाले कात्तिक २१ गते नै भाइटीका गर्नु शास्त्रसम्मत् भएको विज्ञप्तिमा जनाइएको छ ।
म्हपूजाका सम्बन्धमा विगत लामो समयदेखिको परम्परालाई ध्यानमा राखी परम्परा अनुसार नै कात्तिक २० गते म्हपूजा गर्न उपयुक्त हुने विज्ञप्तिमा जनाइएको छ ।

Google Search